Friday, December 16, 2016

वैज्ञानिक योगदान


आज हामी जेजसरी बाँचेका छौँ, एउटा जीवनशैली छ । यी जीवनशैलीहरुमा विज्ञानको योगदान रहेको छ । अहिले कतिपय देशहरुमा त श्वास फेर्न पनि विज्ञान र प्रविधिको प्रयोग हुन्छ । हामीले फोन गछौँ, इन्टरनेट चलाउछौँ, देशविदेशको यात्रा गर्दछौँ, कृषि गर्छौँ, जाडोमा पानी तताउछौँ, गर्मीमा फ्यान चलाउछौँ, केके गर्छौँ भनि साध्य छैन, यी सबैमा वैज्ञानिकहरुको योगदानको हात छ । तर यस्ता काम गर्ने र गर्ने आधार तयार पार्नेहरुबारे हामीले त्यति चासो नदिएका पनि हुन सक्छौँ । सबैको नाम किटान हुन सकेको छैन र भएकालाई पनि हामीले सम्झिन सक्दैनौँ । मानौँ हवाइजहाज बनाउनेभन्दा महगों सिटमा जहाज चढ्नेहरु हाम्रो सम्झनामा रहन्छन् ।

आजकाल जसले जुन कार्य गरे पनि उसको नाम र परिचय जोडिन्छ । तर धेरै पहिलेका वैज्ञानिकहरु जसले हामीले आज बास बस्ने घरहरुको आधार तयार पारिदिए, जसले हामीले खान हुने र नहुने थुप्रै चीजको पहिचान गरिदिए, अनुकूल उचित वातावरणको खोजी गरिदिए, उनीहरुको नाम हामीले जान्न सक्दैनौँ । विज्ञानका क्षेत्रमा योगदान पुर्याउने वैज्ञानिकहरुलाई दुई भागमा बाँडेर हेरिन्छ । एक वर्गका वैज्ञानिकहरु जसको काम र नाम जोडिएको छ, तिनीहरुलाई ज्ञात वैज्ञानिक र अर्का थरी वैज्ञानिक जसको काममात्र थाह छ तर कसले गरे थाह छैन, तिनीहरुलाई अज्ञात वैज्ञानिक भनिन्छ । दुवै वैज्ञानिकहरुका योगदानहरु अविस्मरणीय छन् ।

वर्तमान समयमा काम गर्ने वैज्ञानिकहरु ज्ञात हुन्छन् । उनीहरुको काम र व्यक्तिगत विवरण परस्परमा जोडिएको हुन्छ । वर्तमानमा त प्रयोग गर्नकै लागि प्रयोगशालाहरु पनि बनेका हुन्छन् । तर अज्ञात वैज्ञानिकहरुका लागि त्यस्तो प्रयोगशालीय सुविधा थिएन । जीवन बाँच्दै जाँदा जेजस्ता समस्याहरु आउँछन् उही अनुसार समाधानका उपायहरुको खोजी गर्नु उनीहरुको मूल कर्म थियो । उनीहरुको यही कर्मको जगमा उभिएर आज संसारले यो स्वरुप प्राप्त गर्न सक्षम भएको छ । हामीले ज्ञात वैज्ञानिकहरुको मात्र होइन अज्ञात वैज्ञानिकहरुको योगदानलाई पनि बिर्सनु हुँदैन । अज्ञात वैज्ञानिकहरुको अनन्त सम्झना, उनीहरुमा हार्दिक आभार ।

फेसबुक पेज 'भौतिक विज्ञान'बाट

No comments:

Post a Comment